काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले समस्या नै नभएको विषयमा छानबिन समिति बनाएर सरकारले चीनसँग चिसोपन निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले संवेदनशील विषयलाई आन्तरिक राजनीतिको हतियार बनाउँदा देशकै विश्वसनीयतालाई कमजोर गराउने बताउनुभयो ।
उहाँले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको तर समस्या नै नभएको विषयमा छानबिन समिति बनाएर चीनसँग चिसोपन निम्त्याउन खोजेको आरोप लगाउनुभयो ।
एमाले सचिव ज्ञवालीले भन्नुभयो, ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । जहाँ समस्या छैन, यहाँ एकतर्फी ढंगले पहिलै निष्कर्ष निकालेर जे गर्नुभएको छ, त्यसले दुई देशको सम्बन्धमा अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ ।’
त्यसैगरी उहाँले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाउनुभएको छ । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु सरकारमा रहँदा एमसीसी अगाडि बढाउन खोजेको उहाँको भनाइ थियो ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भन्नुभयो, ‘त्यो सम्झौता ठीक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔं भनेकै हो ।’ तर दलहरुले सडकमा आगो बालेको र केपी ओली तथा सरकारमा बसेकाहरुले गाली खानुपरेको उहाँले बताउनुभयो ।
उहाँले अघि भन्नुभयो, ‘यदि त्यो गलत थियो भने किन गर्नुभयो ? सम्झौता गर्दा तपाईंहरु नै सरकारमा हुनुहुन्थ्यो । यदि सही थियो भने पास हुनबाट किन रोक्नुभयो ?’
अहिले आएर सरकारले प्रतिपक्षको सहयोग खोजेको भन्दै उहाँले भन्नुभयो, ‘अगाडि बढाउने हो भने अगाडि बढाए हुन्छ, तपाईंहरुसँग १६५ मत छ । जे भन्नुपर्ला, प्रस्ताव आइसकेपछि हामी आफ्नो पोजिसन क्लियर गरौंला ।’