काठमाडौं । देउवा सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । सरकारले यही १०-११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको हो ।
असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिले नै टिकट खुलाउने गरी छलफल भइरहेको बताइएको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गरेको छ ।
अग्रिम टिकट खुलाउनका लागि छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार गत साता यातायात व्यवसायीसँग दुईतीन चरणमा छलफल भएका आधारमा आउँदो सातासम्म कति सङ्ख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु-याउने भनी निर्णय हुनेछ । प्रवक्ता भुसालले भन्नुभयो, “समयमै टिकट काटेर यात्रु घर जान सक्नेछन् ।”
कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ । जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो । यस वर्ष पनि सबैलाई घरघरमा पु-याइनेछ ।”
कोभिडका कारण दैनिक एक हजार ५०० नयाँ सङ्क्रमित देखिइरहेकाले पनि समस्या हुन सक्ने भएकाले कुनै पनि ठाउँमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्न सक्ने महासचिव सिटौलाले बताउनुभयो । “कोभिडकै कारणले कति यात्रु घर फर्कन्छन् भन्ने पनि अनुमान गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “महासङ्घले बैठक बसेर मोटामोटी अन्दाज गरेर त्यसैका आधारमा टिकट खुलाउनेछ ।”