काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवानेता योगेश भट्टराईले पार्टी विभाजनले एमाले पार्टीलाई केन्द्रीय नेतृत्वमा केही बढी देखि एपनि स्थानीय र प्रदेश तहमा विभाजनको असर नपरेको दाबी गर्नुभएको छ । उहाँले विभाजनले पाँच प्रतिशतमात्र क्षति पु-याएको दावी गर्नुभयो ।
शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले पार्टी विभाजन हुनु दुःखद् भएको भन्दै पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएका नेता माधव नेपाल एमालेमा फर्कनुको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार ऐनप्रति लक्षित गर्दै नेता भट्टराईले प्रेसमाथि लगाइने कुनै पनि अंकुश एमालेका लागि मान्य नहुने चेतावनी दिनुभयो ।
नेता भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको पनि आरोप लगाउनुभयो । सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उहाँको टिप्पणी गर्नुभयो । उहाँले एमसीसीका विषयमा टिकाटिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु, सीमा विवाद बल्झँदै जानु, विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार नभएको जिकिर गर्नुभयो ।
देउवा सरकारलाई जतिसक्दो चाँडो विस्थापित गरेर एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको नेता भट्टराईले बताउनुभयो । उहाँले एमसीसीबारे सरकारको धारणा नआइसकेको उल्लेख गर्दै सत्ता गठबन्धनमा रहेका दलको एमसीसीबारे आधिकारिक धारणा बाहिर ल्याउन समेत माग गर्नुभयो ।