काठमाडौँ । आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले वर्षा हुने स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।