काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई कार्यकर्ताले जोगाएको बताउनु भएको छ । आफूलाई केही स्वार्थी नेताले तत्कालिन नेकपाको साधारण सदस्य समेतबाट हटाएको स्मरण गर्दै अध्यक्ष ओलीले पार्टीका असल नेता, कार्यकर्ताहरुको पंक्तिले जोगएर सशक्त बनाएको बताउनु भयो ।
जिल्ला कमिटी काठमाडौंले प्राज्ञाभवनमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउन केही आन्तरिक र वाह्य शक्ति लागेपनि एमाले भत्काउने योजना सफल हुन नदिने बताउनु भयो ।
पार्टीबाट तत्कालिन नेता पुष्पकमल दाहालले आफ्नो गुट लिएर हिडेको र त्यसपछि माधव नेपालले केही मान्छे लिएर हिडेको बताउँदै अध्यक्ष ओलीले तत्कालिन नेकपा नै हालको एमाले भएको बताउनु भयो ।
माओवादी नाम रहे पनि त्यो प्रचण्ड गुट मात्र रहेको बताउँदै अध्यक्ष ओलीले एमालेभित्रका विरोधी तत्वहरु पनि उनकै शैलीमा लागेर बाहिरिएको बताउनु भयो । अझै पनि पार्टीलाई माधव नेपालको खाँचो रहेको केही नेताहरुले बताएकोतर्फ इंगित गर्दै अध्यक्ष ओली अब माधव नेपाल जस्ता पार्टीविरोध, कम्युनिष्ट विरोध र आफ्नै पार्टीको सरकारविरोधी एमालेलाई खाँचो नभएको बताउनु भयो ।
अध्यक्ष ओलीले घरमा आगो लगाएर तीर्थयात्रामा हिडेका माधव नेपाल पार्टीमा खाँचो नभएको बताउँदै उहाँले उनीसँग विभिन्न भ्रम, प्रलोभनमा परेर, झुक्किएर सँगै लगेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नु भएको छ ।
आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी पार्टीको सरकार बनाउन भूमिका खेल्ने माधव नेपाल कसरी अग्रगमी भए भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले राजनीतिमा यो भन्दा अनैतिकता र यो भन्दा ठूलो अपराध केही नहुने बताउनु भयो ।
कार्यक्रम महासचिव ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष तथा वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, वागमती इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्नु भएको छ । उहाँहरुले नेकपा एमालेलाई एकतावद्ध र शसक्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै नेता, कार्यकर्ताहरुलाई सोही अनुसार अघि बढ्न आग्रह पनि गर्नु भएको छ ।