विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी कार्यकर्ताको रगतको क्रन्दनमाथि राजनीति गर्ने एकनम्बरको बेइमान, छट्टु तथा धोकेबाज व्यक्ति भएको टिप्पणी गर्नुभएको छ । मंगलबार गृह जिल्ला झापामा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष ओलीले प्रचण्डले कार्यकर्तालाई मराएर त्यही रगतको आहालमा मस्ती गरेको बताउनुभयो । उहाँ सबै हिसाबले राम्रो हो, एउटै मात्र नराम्रो हुनुहुन्छ उहाँ छट्छु नेता हो । कार्यकर्तालाई छक्काएर मराएर तिनको रगतमाथि क्रन्दनमाथि आफ्नो राजनीतिक दुनो सोझाउँने’ उहाँले प्रचण्डले गौर हत्याकाण्डमा आफ्ना त्यत्रो कार्यकता मार्नेहरुसँगै अहिले नाफाका लागि साँठगाँठ गरिरहेको बताउनुभयो ।
ओलीले माधव नेपाल र प्रचण्डले एकिकृत भएको पार्टीलाई विभाजन गर्न खोजे पनि पार्टी अझै पनि एक रहेको बताउनुभयो । उहाँले चुनाव रोक्नका लागि बनाएको सरकारले केही गर्न नसकेको बताउनुभयो । अबको १४ महिनापछि आउने निर्वाचनमा देखाइदिने उहाँले बताउनुभयो । ‘चुनाव टारेर बनेको सरकारको हविगत हेर्नुस् त अहिलेसम्म सरकार बन्दैन त । दुई महिनादेखि तिनै चारजनाले रवाइरवाइ बनाएर घुमाएका छन् ओहिरो सोहिरो केही छैन । रवाइरवाइ मात्र ।’
अध्यक्ष ओलीले देशको अमुल्य समय त्यतिकै खेर गएको बताउनुभयो । सरकार बनेको दुई महिनामा केही राम्रो काम नभएको बताउनुहुँदै उहाँले यो अवधिमा सबै नराम्रो मात्र भएको बताउनुभयो । नेकपा बन्दाको अवस्थामै पार्टी रहेको बताउँदै अहिले बाहिरिएको भनेको प्रचण्ड गुटमात्र भएको बताउनुभयो । उहाँले प्रचण्ड र माधवहरु बाहिरिएर केही असर नपर्ने बताउनुभयो ‘। पतकरहरु झरेर कोशी रोकिन्न, पत्कर त बगाएर लान्छ’ उहाँले भन्नुभयो ।
पिलो निचोरिदैंमा ओजन घटेको हुन्न भन्दै उहाँले एमालेको ओजन नघटेको बरु नयाँ–नयाँ कार्यकर्ता थपिनेक्रम बढेको बताउनुभयो ।
‘पिलो निस्कयाथ्यो पाक्दै थियो, पाक्दै थियो, टनटन गर्दैथियो । पिलो पुलुट्ट निस्किएर गयो । खिल गयो ।’ नयाँ सदस्यता लिनेहरु बढेकाले पार्टीको ओजन र आकार बढ्दै गएको उहाँले बताउनुभयो ।
एक अर्को प्रसंगमा अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाललाई आगामी चुनाव जितेर देखाउन चुनौती दिनुभएको छ ।
‘प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्लाजस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
प्रचण्डले वडा अध्यक्ष र माधव नेपाल वडा सदस्य पनि नजित्ने दाबी उहाँले गर्नुभयो । माधव नेपाललाई किन भोट हाल्ने ? एमाले फुटाएको हुनाले उहाँलाई भोट हाल्ने ? नेकपा एमाले संगठन निमार्ण गर्ने कुरामा गुरु पार्टी भएकाले अहिले सवै अत्तालिएको बताउनुभयो । विचार कस्तो लिनुपर्छ, देश बनाउन एमाले गुरु पार्टी हो उहाँले भन्नुभयो । आन्दोलन कसरी गर्ने ? नीति कस्ता हुने ? ती नीति कसरी कार्यन्व्यन गर्ने ? चुनाव कसरी गर्ने ? कसरी सरकार बनाउने नेकपा एमालेले मात्रै त्यो काम गर्न सक्छ- अध्यक्ष ओलीले भन्नुभयो । ‘तीन बर्ष एमाले सरकारमा के पुगेको थियो तहल्कै भयो, जता हे-यो त्यतै तहल्का भएको देखेर प्रतिक्रियावादीहरु पागल भए ।’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपालका कारण पार्टीले धेरै दुख पाएको बताउनुभयो । अब पार्टीभित्रको पिलो निस्कियो ढुक्क भएर काम गर्नुस्- उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले आमकार्यकर्तालाई माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गर्नुभयो । माधवकुमार नेपालले पतनको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भन्नभयो, ‘अब कमरेड माधव नेपाल होइन, एमालेविरोधी माधव नेपाल ।’
उहाँले माधवले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको समेत टिप्पणी गर्नुभयो । माधवले कसैले अह्राएअनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेको उहाँको आरोप छ ।