काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको आजको सर्वदलीय बैठकमा सहभागी संसदका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर अर्को सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई निर्देशन दिएका छन् । उनीहरुले एमालेसँग संवाद गरी सहमतिमा ल्याउनसमेत सभामुखलाई सुझाव दिए ।
सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै विगत केही दिनदेखि लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरुले सो बैठक बहिस्कार गरेका छन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।
बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भन्नुभयो ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’
उता एमालेले संसद्को गतिरोध अन्त्य गर्नका लागि सभामुखसमक्ष दुई विकल्प प्रस्तुत गरेको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्ने या सापकोटाले सभामुख पदबाट राजीनामा दिनेमध्ये एक रोज्न भनेको छ ।