काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भइसकेको छ ।
देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नयाँ संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना रहेको मन्त्रालयले जनाएको छ ।




















