काठमाडौँ । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।
लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।
गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटना विवरण अनुसार एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनकी आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो ।
लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए ।
यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे । र, आक्रमण गरेर हत्या गरे । तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए । घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले चिर्पटले हिर्काएर हत्या गरे ।
हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी–लखेटी हत्या गरे । त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे । यो रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएको हो ।
६ जनाको ज्यान जाने गरी भएको गत सोमबारको घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो ।
२६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका–भतिज हुन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।




















