काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ- “सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।” उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ- “विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ  ।” यसका साथै उहाँले कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आग्रह गर्नुभएको छ ।