काठमाडौं । आइतबार रातिको बाढीले बल्खु तरकारी बजार डुबेको छ । सो डुबानमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालक मोहन बस्नेतले गर्नुभएको छ । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालक बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’
प्रत्यक्षदर्शी बस्नेतका अनुसार आज बिहान दुई बजेदेखि नै बजार खुलेको थियो । उहाँले भन्नुभयो- “तीन बजेतिरबाट घना वर्षा सुरु भयो । भारी वर्षका कारण बाहिरबाट आएका खुद्रा बिक्रेतालाई सामान बाहिर लैजान कठिन भइरहेको थियो तर भित्री बजारमा खासै समस्या थिएन ।”
बस्नेत अगाडि भन्नुहुन्छ- “साढे तीन बजेतिर बागमती नदी उर्लियो भन्दै बजारमा हल्ला आयो । हामीले यसो खोलातिर हेर्दा बिशाल भएर नदी बगेको देखियो तर नदी सीमाभित्रै थियो । बिहान चार बजेसम्म पनि नदीले पुरानो धार नाघेको थिएन ।
बजारमा किनमेल चलिरहेकै थियो । बाहिरबाट तरकारीका गाडी आउने, तरकारी गोदाममा राख्ने, तरकारी लिन आएका खुद्रा व्यापारीले आफ्नो माल सामान जोख्ने काम चलिरहेकै थियो तर ४:३० बजे अप्रत्याशित रुपमा बागमती नदी बल्खु बजारमै पस्यो ।”
उहाँले अगाडि भन्नुभयो- “नदीको बहाब नियली रहेकै थियौं तर नदीको भेल नै आकस्मीक बजारमा छिरेपछि भागाभाग भयो । केही मिनेटमै बल्खु तरकारी बजार पूर्णरुपमा ध्वस्त भयो । बजारमा तीन फिटभन्दा माथि पानी जमेको छ । बजारमा रहेका तरकारीको किराना पसलहरु सबै ध्वस्त भएका छन् । सबै बगेका छन् । कति किराना, तरकारी बगायो भन्ने हामी विवरण संकलन गरिरहेका छौं । बजारभित्र रहेको आलु, प्याज र लसुनको गोदाम पुरै डुबेको छ ।”
उहाँले भन्नुभयो– “बाढी लगत्तै भागाभाग भयो । केहीलाई उद्धार पनि गरेका कारण मानवीय क्षति भएको अहिलेसम्म हाम्रो जानकारीमा छैन । बजारमा रहेका दुईवटा छाप्रा बगाएको छ । फोहोर बोक्ने एउटा कन्टेनर पनि बाढीले बगाएको छ । तरकारी बोक्ने र यहाँको पार्किङमा राखिएका १५ वटा सवारीसाधनलाई हामीले बल्ल-बल्ल बगाउनबाट जोगाएका छौं । बाढी पसेपछि ती गाडीलाई डोरीलगायतको साधनको प्रयोग गरेर हामीले बाँधेका थियौं । ती अहिले क्रेनको मद्दतमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।”