काठमाडौं । गए राति परेको अविरल वर्षाले आएको बाढीले काभ्रेको बनेपा बजारको हरिबिजोग भएको छ । बाढीले काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको हो ।
बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको छ ।
वरपरका घर-पसल जलमग्न छन् । पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ ।
पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताउनुभयो । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।
पुण्यमाता खोलाको बाढीले पुल बजार क्षेत्रमा हरेक वर्ष हुने डुबानको समस्या हुन्छ । तर डुबानको समस्या समाधान नहुँदा यहाँका बासिन्दा समस्यामा पर्दै आएका छन् । पुल बजार क्षेत्रमा साना गाडीहरु डुब्ने गरी पानी जम्मा हुन्छ । त्यो भल पार गर्न पानीको सतह कम नभइन्जेल कुरेर बस्नुपर्ने बाध्यता छ ।
अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ ।