काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ १६ गतेसम्म थप भएको छ । आज बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।
संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ । यस अवधिमा मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइने छैन । यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।
त्यसैगरी बैठकले काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।
निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो ।
साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधनबाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।
यसपालिको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिनुभयो । रातिको समयमा मात्र सवारीसाधन सञ्चालनमा गरिएको कडाइले कोरोना महामारी नियन्त्रण नहुने भन्दै प्रशासनको आदेशको आलोचना भएको थियो ।

























