काठमाडौँ । जापानबाट दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडाैं आइपुगेको छ । आज विहान ९:३० बजे कतार एयरबाट भित्रिएको हो । कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने प्रतिबद्धता अनुरुप सो खोप आइपुगेको हो । यसअघि नै नौ लाख डोज खोप काठमाडौं ल्याइएको थियो ।
आज दुई लाख आठ हजार सातसय खोप आइपुगेको र बाँकी नौ लाख ४८ हजार सात सय वटा खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वितरण शाखाका वरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो खोप टेकुमा भण्डारण गरेर सबै प्रदेशहरुमा चाँडै वितरण गरिनेछ ।
यस्तै, मन्त्रालयका वाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकारी डा. भरत भण्डारीले प्रदेश १ र २ मा ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्डको दोश्रो खेपको खोपको रुपमा अष्ट्राजेनिका खोप दिने बताउनुभयो ।




















