काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी संग्रहालयको अनौपचारिक भ्रमण गर्नुभएको छ । शुक्रबार उहाँले संग्रहालयको सबा दुई घण्टा अनौपचारिक भ्रमण गर्नुभएको हो ।
अनौपचारिक रुपमा नारायणहिटी दरबारको अवस्थाको अवलोकन गर्न राष्ट्रपति भण्डारी जानुभएको हो । उहाँले करिब सवा २ घण्टा नारायणहिटीको अवलोकन भ्रमण गर्नुभयो । उहाँले सर्वसाधारणले अवलोकन गर्ने रुटबाट मूल दरबारको अवलोकन गरी श्री सदनको पनि भ्रमण गर्नुभयो । भ्रमणको क्रममा उहाँले राजारानीले चलचित्र हेर्ने फिल्महलको समेत अवलोकन गर्नुभयो ।
सरकारले जारी गरेको निषेधाज्ञाका कारण करिब-करिब साढे तीन महिनादेखि बन्द रहेको नारायणहिटी दरबार यतिबेला सुनसान छ । बन्द अवस्थामा संग्रहालयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारीमा व्यस्त छन् । अहिले दरबारभित्रको रंगरोगन सकिएको छ । बाहिरको फोहोरा बगैँचाको साजसज्जाको काम चलिरहेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताउनुभयो ।
राष्ट्रपतिको भ्रमणको क्रममा संग्रहालयमा रहेका समस्याका बारेमा पनि संग्रहालयका अधिकारीहरुले जानकारी गराएका । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक दाहालले भन्नुभयो ‘यो उहाँको अनौपचारिक भ्रमण थियो । तर हामीले भ्रमणपछि आफूहरुको समस्या पनि सुनायौं ।’
अहिले नारायणहिटी संग्रहालय बन्द रहेका कक्षहरु खोल्ने काम धमाधम चलिरहेको दाहालले बताउनुभयो । यही क्रममा गत आर्थिक वर्षको अन्तिममा संग्रहालयले राजारानीले चलचित्र हेर्ने फिल्महलको प्रविधि खरिद गरेको छ । चालु आर्थिक वर्षभित्रै यो सञ्चालनमा ल्याउने संग्रहालयको तयारी छ ।
त्यस्तै, दाहालका अनुसार अझै पनि राजाको सैलुन कक्ष, पुस्तकालय जस्ता कक्षहरु खुला गर्न सकिएको छैन । यो पनि छिट्टै खुला गर्ने तयारी संग्रहालयले गरिरहेको छ । त्यही बन्द कक्ष खुला गर्न परेको समस्यालगायतको विषयमा राष्ट्रपति समक्ष समस्या सुनाएको दाहालले जानकारी दिनुभयो ।































