काठमाडौं । नेपालमा तीव्र गतिमा कोरोना संक्रमणको दर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा ४९०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणका कारण गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यसैगरी १० वर्षमुनिका १०३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ४१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।




















