काठमाडौँ । सरकारले यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि एस्ट्राजेनेका खोप लगाउने भएको छ । स्वास्थ्य कार्यलय काठमाडौँले एस्ट्राजेनेका खोप साउन २५ र २६ सम्म लगाइने बताएको छ । सो कार्यालयका अनुसार खोप ६५ बर्षभन्दा माथिका नागरिक र कोभिसिल्ड खोप पहिलो मात्रा लगाएकाले मात्रै लगाउन पाउने छन् ।
खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य रूपमा लिएर खोप केन्द्र जानुपर्नेछ । त्यसका साथै विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर चाहिने कार्यालयले बताएको छ ।
जापान सरकारले शनिबार बिहान ५ लाख १३ हजार डोज खोप नेपाललाई सहयोग गरेको छ । जापान सरकारले यसअघि नै १६ लाख डोज सहयोग गर्ने घोषणा गरिसकेको छ । बाँकी खोप पनि बिस्तारै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै शुक्रबार भुटान सरकारले तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको थियो ।
एस्ट्राजेनेका खोप काठमाडौँ महानगरपालिका, चन्द्रागिरी, नागार्जुन, तारेश्वर, दक्षिणकाली, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर, कागेश्वर नगरपालिका, राधास्वामी आइसोलेसन सेन्टर, शसस्त्र प्रहरी बल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताललगायतका अस्पतालबाट लगाइने भएको छ ।




















