काठमाडौँ । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । गत असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह छ । अहिलेसम्म खोप नलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारले यसअघि नै अनुरोध गरिसकेको छ ।
यसैगरी आउँदो साउन २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउन लागेको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ । दुवै देशबाट भोलि र पर्सिसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सयजनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको प्रयोग भइसकेको छ ।




















