काठमाडौँ । जापान सरकारले नेपाललाई सहयोग गरेको अस्ट्राजेनेका खोप साउन २३ र २४ गते आउने भएको छ । कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको १६ लाख अस्ट्राजेनेका खोप काठमाडौँ आउने भएको हो ।
जापानले सहयोगमा दिएको १६ लाख मात्रा खोप दुई चरणमा ल्याउन लागिएको हो । जसमा पहिलो चरणको खोप आगामी शनिबार र दोस्रो चरणको खोप आइतबार आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै दुई चरणमा साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने बताउनुभएको छ ।
कोभिशिल्डको पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई अष्ट्राजेनेका खोप लगाइने भएको छ । सरकारले अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडशिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।
दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भए पनि भारतले खरिदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई अस्ट्राजेनेका खोप लगाउने निर्णय यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ ।




















