काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा साउन २७ गतेसम्म थपिएको छ ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।
निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।
यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन ।
यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने आदेशमा उल्लेख छ ।
कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली र सुरक्षा निकायले जनस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र अटेर गर्नेलाई कानुनी दायरामा ल्याइने समेत प्रजिअ पराजुलीले बताउनुभयो । भिडभाडजन्य गतिविधि नरोकिए अझ कडाईका साथ अघि बढ्ने उहाँले बताउनुभयो । जारी निषेधाज्ञामा भिडभाड रोक्न स्थानीय निकायको सहभागीतामा प्रचारप्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने निर्णय भएको उहाँले बताउनुभयो ।
साथै कोरोनाको परीक्षण दायरा बढाउने विषयमा समेत बैठकमा निर्णय भएको छ । साथै यस्तै अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई फेरबदल आगामी दिनमा गर्ने विषयमा छलफल भएको समेत प्रजिअ पराजुलीले बताउनुभयो । छिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
हेर्नुहोस् जिल्ला प्रशासन काठमाडौँले जारी गरेको आदेशको पूर्णपाठः


























