सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका तीनजनामध्ये एक महिलाको शव फेला परेको छ । मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले बताउनुभयो ।
कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित तीनजना बेपत्ता भएका थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको एसपी श्रेष्ठले बताउनुभयो ।
१० जना सवार रहेको डुंगा पल्टिँदा दुईजना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिनुभयो ।