सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुभएको छ । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । आज विहान ९ बजे हेलिकप्टरबाट राष्ट्रपति भण्डारी त्यहाँ पुगेर संग्रहालयको उद्घाटन गर्नुभयो । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।
सो संग्रहालय युद्ध कला झल्किने गरी निर्माण गरिएको छ । नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण गरेको हो । ६ कोठा र ६ हजार २८१ स्क्वायर फुटको संग्राहलयमा वीर गोर्खा र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू राखिएका छन् ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गर्नुभएको थियो । नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडाँै कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।