काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्नुहुने भएको छ । नेपालमा पहिलोपटक सिन्धुलीगढीमा स्थापना गरिएको युद्ध संग्रहालयको उहाँले उद्घाटन गर्न लाग्नुभएको हो ।
सो संग्रहालय युद्ध कला झल्किने गरी निर्माण गरिएको छ । नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण गरेको हो । ६ कोठा र ६ हजार २८१ स्क्वायर फुटको संग्राहलयमा वीर गोर्खा र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू राखिएका छन् ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।
गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोशाकलगायत संग्रहित गरिएको छ । २०७६ कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिन्धुलीगढी युद्व संग्रहालयको शिलान्यास गर्नुभएको थियो ।
नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।