काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी शुरु भएको छ ।
आम सर्वसाधारणदेखि कलाकार तथा राजनीतिज्ञहरुले पनि श्रेष्ठको नियुक्तलाई लिएर असन्तुष्टी जनाएका छन् । कोरोना महामारीमा स्वास्थ्य मन्त्री नियुक्त नगर्नु सरकारको गैरजिम्मेवारीपना हो भन्दै विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले आइतवार स्वास्थ्यराज्यन्त्री नियुक्त गरेका हुन । तर श्रेष्ठको नियुक्तिलाई जनताको स्वास्थ्यका लागि भन्दा पनि चुनावी खर्च वापत नियुक्त गरिएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको आलोचना भएको छ ।
हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरीले पनि सामाजिक संजालमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई चयन गरेपछि ब्यङ्ग्य गर्दै स्टाटस लेखेका छन् । उनले लेखेका छन्–‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’
उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको संझदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको पनि उल्लेख गरेका छन् ।