काठमाडौँ । आजदेखि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भूभागमा अबको दुई दिन अर्थात पर्सि बुधबारसम्म झरी पर्ने सम्भावना देखिएको छ ।
केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धेरै ठाउँमा गए रातिदेखि नै पानी परिरहेको छ ।
महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय रहेको छ ।




















