काठमाडौं । काठमाडौंमा गुड्ने टयाक्सीको भाडा बढाउन माग गर्दै व्यवसायीहरुले सडकमा अवरोध गरेका छन् । लामो समयदेखि भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले सडकमा अवरोध गर्दै सवारीसाधनसहित विरोध प्रदर्शन गरेका हुन् ।
एक साताअघि करिब १२ हजार ३ सय ५० वटा ट्याक्सीले भाडा बढाउनुपर्ने माग गदै काठमाडौंको कोटेश्वर, ग्वार्खो, लगनखेल, जावलाखेललगायत चक्रपथ क्षेत्रमा जुलुस निकाले मागको सुनुवाई नभएको भन्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले गरेको प्रदर्शनका कारण विहानैदेखि काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीले बिरोध जनाएका हुन।
व्यवसायीहरूले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा समायोजन गरेको तर छोटो दूरीमा गुड्ने गाडीहरुमा भाडा समायोजन नगरेको भन्दै चक्रपथ र अन्य सडकमा खाली गाडी गुडाएर आन्दोलन गरेका छन् । इन्धनको मूल्य पटक-पटक वृद्धि भएको, महँगी बढेको, राजश्वमा वृद्धि गरेको तर भाडामा नौ वर्षदेखि समायोजन नगरेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद सिटौलाले बताउनुभयो । सबै क्षेत्रमा गुड्ने सार्वजनिक सवारीमा समान रुपमा भाडा समायोजनको माग गरे पनि वेवास्ता गरेपछि सडकमै उत्रिनुपरेको उहाँले बताउनुभयो । दुई वर्षदेखि ठप्प भएको यातायात व्यवसायमा सरकारले सहुलियत र मजदुरका लागि राहतको व्यवस्था गर्न पटक-पटक माग गरे पनि सुनुवाइ नभएको उहाँले गुनासो पोख्नुभयो ।
सरकारले असार २७ गते मन्त्रीस्तरबाट अन्तरप्रदेशमा गुड्ने सवारीसाधनका लागि मात्र २८ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय गरेको थियो । नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदनले अन्तरप्रदेशस्तरमा भाडादर समायोजन गर्ने अधिकार यातायात व्यवस्था विभागलाई दिएको र प्रदेशभित्र र स्थानीय तहभित्र सञ्चालित सार्वजनिक सवारीसाधनका लागि भने सम्वन्धित प्रदेश सरकार र स्थानीय तहले भाडादर समायोजन गर्ने अधिकार दिएकाले विभागको जिम्मेवारी नभएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ रिजालले बताउनुभयो ।
























