काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई कडाइ गर्दै निषेधाज्ञा थपिन लागेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
सबै किसिमका सार्वजनिक सवारीसाधन खुले पनि उपत्यकाभित्र होटेल तथा रेष्टुरेस्टहरुमा थप कडाइ हुनसक्ने प्रजिअ पराजुलीले बताउनुभएको छ । यसबारे निर्णय गर्न आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा थप कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक–पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ ।
























