काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रहसमेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।
प्रशासन कार्यालयकी प्रशासक लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्को मिति २०७८/०४/०४ को निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ।’
यस्तै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।
लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखिएको छैन ।
काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्कबाट बसहरु विभिन्न गन्तव्यमा छुट्नका लागि तयार भए पनि यात्रुहरुको चहलपहल भने निकै कम देखिएको छ ।
सधैं भीडभाड देखिने बसपार्क सुनसान छ भने टिकटकाउन्टर पनि खाली देखिन्छन् । आज पहिलो दिन भएकोले र धेरै उपत्यका बाहिर भएकोले पनि यात्रु कम देखिएको यातायात व्यवसायी बताउँछन् ।




















