काठमाडौँ। । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनहरुप्रति शुभकामना सन्देश दिनुभएको छ । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उहाँले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गर्नुभएको हो ।
शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताउनुभएको छ । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे पनि कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताउनुभएको छ ।
उहाँले हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारको विकास गराउनेप्रति आदर सत्कार गर्नुभएको छ । गुरुपूर्णिमाकै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ ।
ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ ।
वेदव्यासले वेदान्त, १८ पुराण, उपनिषद्लगायत धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ । व्यासले पुराण उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ भन्दै अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको कुरा धर्मग्रन्थमा उल्लेख पाइन्छ ।
प्रधानमन्त्री देउवाले गुरुपूर्णिमा तथा व्यास दिवसको अवसरमा सबैमा शिक्षा, ज्ञान, चेतना र नैतिकताको सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।




















