काठमाडौं । अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सनको खोप १८ वर्षमाथिकाले पनि लगाउन पाउने भएका छन् । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको सो खोप लगाउन पाउने भएका हुन् ।
सो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन सुरु गरिए पनि बाँकी रहेकाले १८ वर्षभन्दा माथिकालाई दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि सो खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय भएको प्रजिअ पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार जति नागरिकलाई खोप पुग्छ, त्यहीअनुसार खोप कार्यक्रम अगाडि बढ्ने भएको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप एक डोज मात्र लगाए पुग्छ ।
उता अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना खोप निकै संक्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी देखिएको जनाइएको छ ।
मंगलबार सार्वजनिक गरिएको अध्ययनको एउटा रिपोर्टअनुसार सो खोप डेल्टा भेरियन्टविरुद्ध केवल ३३ प्रतिशत मात्र प्रभावकारी रहेको पाइएको हो । अध्ययनको क्रममा दुई डोज दिनुपर्ने खोप लगाएका मानिसहरुमा जोन्सेन खोपको तुलनामा एन्टिबडीको मात्रा पनि दोब्बरभन्दा बढी देखिएको थियो ।

























