काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको जोखिम कायम रहेकाले स्वास्थ्यका मापदण्ड पालना गर्दै इद पर्व मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बीमा आग्रह गर्नुभएको छ । साथै उहाँले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको हो ।
कोरोना महामारीका कारण सामाजिक र सांस्कृतिक धरोहरका पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोरोनाको प्रभाव नपर्ने गरी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

























