काठमाडौँ । नेपाल बहुधार्मिक मुलुक भएकाले यहाँ विविध धर्मावलम्बीहरुको बसोबास रहेको छ भने वर्षभरि नै विभिन्न धार्मिक चाडपर्वहरु मनाइन्छन् । सोही क्रममा मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज परेको छ । सो अवसरमा मुस्लिम धर्मावलम्बीहरुले बकर इद देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाउँदै छन् ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताउनुभयो । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पाठ गरिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गर्छन् ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको बाक्लो भीड लाग्ने गरेको छ ।
यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आग्रह गरेका छन् ।

























