काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज खोप केन्द्रको अनुगमन गर्नुभएको छ । देउवाले बिहान १० बजे जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रमा पुगेर अनुगमन सुरु गर्नुभएको हो ।
अमेरिकी खोप जोनसन लगाउनका लागि स्थापना गरिएको खोप केन्द्रहरु अपाङ्ग अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र ललितपुरको पाटन अस्पतालको अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उक्त खोप ५० देखि ५४ वर्षका उमेर समूहलाई लगाउने जनाएको छ । त्यसै गरी पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् । काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपालले प्राप्त गरेको हो ।
प्रधानमन्त्रीले हिजो नै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा जिल्ला स्वास्थ्य प्रमुखहरुसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न निर्देशन दिनुभएको थियो । सो निर्देशन अनुसार उहाँले आज अनुगमन गर्नुभएको हो ।




















