काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे सम्बद्ध पदाधिकारीसँग बुधबार जानकारी लिँदै उहाँले सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिनुभएको छ ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।