काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । वीर अस्पतालस्थित कोभिड– १९ युनिफाइड केन्द्रीय अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले वीर अस्पतालस्थित नवनिर्मित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल भवनको उद्घाटन गर्नुभएको हो । उहाँले आज बिहान आयोजित एक भव्य कार्यक्रमका बीच नवनिर्मित सर्जिकल भवनसहित युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन गर्नुभएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको लडाइँमा जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य सुविधाको न्यूनतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धैरै हदसम्म सफल भएको भन्दै कोभिडलाई पुर्णरुपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह गर्नुभयो ।
नवनिर्मित कोभिड अस्पतालबाट जनताले पुर्ण रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

























