काठमाडौं । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनाइएकी एक सुत्केरी महिलालाई प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले उद्धार गर्नुभएको छ । उहाँले धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुनलाई अस्पतालको उपचार खर्च तिरेर उद्धार गर्नुभएको हो ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रबार नै उहाँलाई डिस्चार्ज गराउनुभएको छ ।
उपचार खर्च तिर्न नसकेर खातुन चार दिनदेखि बन्धक बन्नुपरेको थियो । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना हुनुभएको थियो । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चवापत रु एक लाख १० हजार बुझाउन नसक्दा उहाँ चार दिनदेखि बन्धक बन्नुपरेको थियो ।
प्रधानमन्त्री पत्नी शाक्यले बिहीबार नै प्रहरीको सहयोगमा अस्पतालको सबै उपचार खर्च आफूले बेहोर्ने जानकारी गराई खातुन र बच्चालाई मुक्त गराउनु भएको हो ।
खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न नसकेको र सुत्केरी अस्पतालमै बन्धक बनेको समाचार पढेपछि शाक्यले खातुनको सबै उपचार खर्च बेहोर्नुभएको हो ।

























