काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जानुहुने भएको छ । उहाँ बाढीले क्षति भएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न बस्तीको निरीक्षण गर्न त्यसतर्फ जानुहुने भएको हो ।
प्रधानमन्त्री ओली आज बिहान १०:३० बज सेनाको हेलिकप्टरमार्फत् सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ । सचिव तामाङका अनुसार प्रधानमन्त्री ओलीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्रलगायत बाढीले क्षति पु-याएका विभिन्न स्थानको हवाई निरीक्षण गर्नुहुनेछ ।
त्यस्तै हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, दलका नेताहरु, बाढीपहिरो पीडितसँग प्रधानमन्त्रीले बाढीपहिरोले पु-याएको क्षतिका बारेमा केहीबेर छलफल गर्नुहुने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओली मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यक्रम रहेको छ । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्था जानकारी गराउने उहाँको भ्रमण तालिकामा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मेलम्ची बजारका बाढीपीडितहरुसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ । सचिवालयले दिएको जानकारी अनुसार बाढीपीडित र भौतिक क्षतिको अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्रीले राहतको र पुनर्निर्माणका प्याकेज घोषणा गर्ने तयारी गरेको सचिवालयले जनाएको छ । गत असार १ गते आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा ४ जनाको शव भेटिएको छ भने करिब २५ जना बेपत्ता रहेका छन् ।
























