काठमाडौँ । मनसुनी वायुको प्रभाव देशभर रहेकाले मौसमको अवस्था सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वर्षा हुने महाशाखाले जानकारी गराएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरुमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

























