काठमाडौं । मुलुकका विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको गत २४ घन्टाको कोरोना संक्रमित र निको हुनेको तथ्यांक हेर्दा निको हुनेभन्दा एक हजारले संक्रमितको संख्या बढी रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा १७१८ र पाँच हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नौ हजार २६३ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।




















