काठमाडौँ । काठमाडौं उपत्यकामा फेरि एक सात निषेधाज्ञा थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप गर्नका लागि आज दिउँसो ३ बजे काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ ।
योपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल भइरहेको बताइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ ।
यसअघि असार १४ गते जारी भएको निषेधाज्ञाको अवधि सोमबार राति १२:०० बजेबाट सकिँदै छ। पछिल्लो पटक थपिएको निषेधाज्ञामा २५ भन्दा बढी सिट भएका सार्वजनिक यातायात जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिइएको थियो । त्यसैगरी खाद्यान्न पसलहरु बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइएको थियो ।
























