काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगातार आउने बताउनुभएको छ । त्यसैले अब छिट्टै ठाउँठाउँमा म्याक्सिन क्याम्पेन चलाइने उहाँले बताउनुभयो ।
काठमाडौंमा आयोजित समुन्द्रटार त्रिशुली ३ बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेशनको एक समारोहबीच शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकमा खोप अभियान निरन्तर चल्ने बताउनुभयो । कार्यक्रममा उहाँले केही समयअघि खोप पाउन समस्या भए पनि निरन्तरको प्रयास र मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताउनुभयो ।
‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उहाँले भन्नुभयो, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’
प्रधानमन्त्री ओलीले खोपको सुनिश्चिता गरिए पनि खोप भण्डार तथा लगाउने तयारी कमजोर रहेकाले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमशः सबै नागरिकलाई खोप दिने बताउनुभयो । ‘हामी जतिसक्दो चाँडो सबै नागरिकहरुलाई खोप लगाउने छौँ’ प्रधानमन्त्रीले बताउनुभयो । सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्री ओलीले खोप आउन थालेपछि थप सुरक्षित हुने धारणा व्यक्त गर्नुभयो ।

























