काठमाडौँ । काठमाडौं उपत्यकासहित मुलुकभरका विभिन्न स्थानमा बुधबार रातिदेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि नै वर्षा भइरहेको हो । यी प्रदेशका एक दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकामा पनि बुधबार रातिदेखि निरन्तर वर्षा भइरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । ‘आज बीचमा केही बेर रोकिए पनि वर्षा जारी रहने देखिएको छ,’ मौसमविद् नगरकोटीले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने महाशाखाको अनुमान रहेको छ । यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ ।
मौसम महाशाखाका अनुसार आज राति पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण मुलुकका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

























