काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि हुने भएको छ । तर स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान सञ्चालन गर्नुपर्नेछ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक हवाई उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।
आन्तरिक हवाई उडान खुलाएसँगै शुरूवातमा दैनिक ६४ उडान हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।
आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक हवाई उडान हुने संघका प्रवक्ता योगराज कँडेलले बताउनुभयो । उहाँका अनुसार बुद्ध एयरले ३१ वटा यति एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान गर्ने जनाएका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान सञ्चालन गर्नुपर्ने छ ।
सञ्चालन गर्न लागिएको हवाई उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक हवाई उडान हुँदै आएको थियो ।

























