काठमाडौँ । नेपालमा कोरोना कहर अझै पनि कम भइसकेको छैन । दैनिक २ हजारभन्दा बढी संक्रमित फेला परिरहेकै छन् । तर काठमाडौँ उपत्यकामा आजदेखि जोरबिजोरका आधारमा सार्वजनिक यातायात सञ्चालन गरिएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन आजदेखि जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।
त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारी साधन निसङ्क्रमित गर्नुपर्नेछ । सवारीसाधन बिहान ६:०० बजेदेखि साँझ ७:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जारी आदेशमा उल्लेख गरिएको छ ।
निजी सवारी साधन (कार जीप, भ्यान) बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाउने नियम बनाइएको छ ।
मोटरसाइकल/स्कुटरसमेत जोरबिजोर प्रणाली लागू (जोर गते जोर नं र बिजोर गते बिजोर नं) चलाउन पाइनेछ । स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।
अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्य सम्बद्ध (औषधि, अक्सिजन सिलिण्डर), दूरसञ्चार इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ ।
विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइनेछ ।
त्यस्तै यसका लागि दुई सवारी साधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत बस्तु बिहान ९:०० बजेदेखि ११:०० र अपराह्न ४:०० बजेदेखि ७:०० बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९:०० देखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ । पत्रकारलाई सूचना विभाग वा मिडिया हाउसले जारी पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यसैगरी स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरे कडा कारबाही गरिने पनि उल्लेख गरिएको छ । त्यसका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने जनाइएको छ । तर स्वास्थ्यविज्ञहरुले नेपालमा कोरोनाको जोखिम अझै उच्च रहेकाले भीडभाडजन्य गतिविधि नरोके त्यसले पुनः गम्भीर अवस्था आउन सक्ने भन्दै लकडाउनलाई खुकुलो पारे पनि स्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
























