काठमाडौँ । नेपालमा कोरोना संक्रमणको लहर संख्यामा कम देखिए पनि यसको जोखिम भने उच्च नै रहेको स्वास्थ्यविज्ञहरुले बताइरहेका बेला काठमाडौं उपत्यकामा जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात खुला गर्ने तयारी गरिएको छ ।
यसका लागि आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । आजको बैठकमा उपत्यकामा जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात खुला गर्नेबारेमा निर्णय हुनसक्ने बताइएको छ ।
उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ ।
कोरोना भाइरसका संक्रमित संख्या घट्दै गए पनि जोखिम नघटेका कारण निषेधाज्ञा भने जारी नै राख्ने बताइएको छ । आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकाले आज पुनः बैठक बस्ने गरी बैठक सकिएको थियो ।
अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी पनि चल्न दिने भन्ने विषयमा आइतबार भएको बैठकमा छलफल भएको थियो । तर यसबारे निर्णय नभइसकेकाले आज फेरि बैठक बस्न लागेको हो ।
























