काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा भोलि निर्णय हुने भएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागू हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्नेलगायतका सुझावहरु दिएको भए पनि उपत्यकाका ३ वटै जिल्लाको आ–आफ्नो अवस्थालाई हेरेर निर्णय गर्नुपर्ने भएकाले सोको निर्णय भोलि हुने उहाँले जानकारी दिनुभयो ।
उपत्यकामा संक्रमण दर केही मात्रामा घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधन अझै एक/डेढ हप्ता खोल्न नहुने सुझाव आएको उहाँले बताउनुभयो ।
























