काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । सो निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । दिउँसो बस्ने बैठकले जारी निषेधाज्ञाका बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ ।
हाल जारी भएको निषेधाज्ञा एक साता थप हुने र अन्य केही क्षेत्र खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग आए पनि अहिलेको अवस्थामा खोल्ने अवस्थामा आफूहरु नपुगेको र यस विषयमा पनि आज निर्णय हुने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समयतालिका हेरफेर र अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिने उहाँले बताउनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राति १२ बजेपछि सकिनेछ ।

























