महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल शुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको कांग्रेसले कञ्चनपुरमा पनि चुनावी माहोल बनाउँदै छ ।
यहाँ प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय तहमा नराम्ररी पराजय व्यहोरेको कांग्रेस कञ्चनपुरले केन्द्रसँगै जिल्लामा पनि सबल नेतृत्व चयन गर्ने कार्यकर्ता र नेताहरुको भनाई छ । कांग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताउनुभयो । “ माथिबाट निर्वाचन तालिका समेत आएर सोही अनुसार काम अगाडी बढाउन भनिएको छ”, उहाँले भन्नुभयो,“ अब कुनै पनि हालतमा अधिवेशन रोकिँदैन ।”
यहाँ जिल्ला नेतृत्व तहका कांग्रेस नेताहरु तालिकसहित सामाजिक सञ्जालमा पनि चुनावी चहलपहल अघि बढाइरहेका छन् । कोरोना कहरका कारण पनि एक आपसमा भेट्नुभन्दा सामाजिक सञ्जालजस्ता सूचना प्रविधिको प्रयोगको प्रचलन यसपटक बढ्ने देखिएको छ । नयाँ पुस्ता प्रचारको लागि प्रविधिमा बढी व्यस्त छन् । कांग्रेस कञ्चनपुरका युवा नेता आशेफ कुवँर (भुन्टु) ले जिल्लामा युवा पुस्ता पनि नेतृत्वदायी भूमिकामा आउन तत्पर रहेको बताउनुभयो । “पार्टीभित्र काम गर्ने शैली पनि समयक्रम अनुसार सुधार गर्दै लैजानु आवश्यक छ”, उहाँले भन्नुभयो, “ पुरानो ढर्राबाट पार्टी चल्दैन ।” उहाँले पार्टीमा महिला, दलित, जनजाति र सबै वर्गको प्रतिनिधित्व हुने गरी कमिटी बनाउनुपर्नेमा जोड दिनुभयो ।
पाँच हजार पाँच सय क्रियाशिल सदस्य रहेको कञ्चनपुर कांग्रेसले पाँच हजार एक सय क्रियाशिल नयाँ सदस्यता थप गरेको छ ।
पार्टीभित्रका दुई प्रभावशाली नेता रमेश लेखक र नारायणप्रकाश साउँदको गृहजिल्ला कञ्चनपुरमा समूहगत राजनीति समेत हुने गरेको छ । “एउटै जिल्लामा गुटगत राजनीति हुँदा अन्य पार्टीले त्यसको भरपुर फाइदा लिन्छन्”, कुवँरले भन्नुभयो, “ कांग्रेसको शीर्ष तहदेखि नै सुमधुर सम्बन्ध स्थापित गरेर कांग्रेसलाई चलायमान बनाउनुपर्छ ।”
त्यसैगरी जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले निर्वाचन गर्न कार्यतालिका बनेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण निर्वाचनलाई असर गर्न सक्ने तर निर्वाचन गर्ने पक्षमा पार्टी नेतृत्व रहेको बताउनुभयो । पछिल्लो पटक केन्द्रीय समितिसँगै नेतृत्व तहले महाधिवेशनको सुनिश्चितता सहितको निर्णय गरेपछि जिल्ला जिल्लामा पार्टीको चुनावी चहलपहल बढ्न थालेको हो । (रासस)