काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । चीनले दोस्रो पटक उपलब्ध गराएको भेरोसेल खोप सरकारले २२ गतेबाट लगाउने व्यवस्था गर्न लागेको हो ।
जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई सरकारले पहिलो मात्रा खोप लगाउने व्यवस्था गरेको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तयारी गरेको जानकारी दिनुभयो । यसका साथै यसअघिका खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो मात्रा लगाउन पाउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो- यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले पनि दोस्रो मात्रा खोप लगाउन पाउने छन् तर त्यसका लागि पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु पर्नेछ ।
पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उहाँले जानकारी दिनुभयो ।

























