काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना संक्रमित भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बागलुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी भएको जनाएको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ र ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ । तीमध्ये हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् भने ८ हजार ८१३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ । जसमध्ये ४९ हजार ४२५ जना होम आइसोलेसनमा छन् भने ३ हजार २२३ जना संस्थागत आइसोलेसनमा छन् । संक्रमितमध्ये ७६१ जनाको आईसीयू र २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ४७६ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३१०, ललितपुरका ९९ र भक्तपुरका ६७ जना रहेका छन् ।

























